काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी विषयमा छलफल गर्न १० राजनीतिक दलका शीर्ष नेताहरूलाई बैठकका लागि आह्वान गरेका छन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबारे राजनीतिक दलहरूको धारणा बनाउन सभामुखले बैठक बोलाएको अधिकारीले जानकारी दिए ।
त्यसैगरी सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूसँग पनि छलफलको कार्यक्रम तय गरेको अधिकारीले बताएका छन् ।























