images
images
  • ६ जनाले हस्ताक्षर फिर्ता लिए पनि महामन्त्री थापा र शर्माले देउवा हटाउन जुटाए बहुमत

    काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले ५१ प्रतिशत हस्ताक्षरसहितको पत्र बुझाउने तयारी गरेका छन् ।

    ‘कभर लेटर’सहितको हस्ताक्षर पत्र बुझाउने योजना छ ।

    भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाले बैठकअघि नै हस्ताक्षर बुझाउने तयारी गरिएको हो ।

    नेता प्रतिमा गौतमका अनुसार विशेष महाधिवेशन मागका लागि आवश्यक संख्यामा हस्ताक्षर भइसकेका छन् ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहेर अभियान अघि बढाएका हुन् ।

    उनीहरू मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने तर्क गर्छन्, तर सभापति शेरबहादुर देउवा पक्षले त्यसो गर्न नसकिने बताउँदै वैशाखमा मात्र महाधिवेशन गर्ने अडान लिएको छ ।

    देउवा पक्षले ढिलाइ गरेपछि थापा–शर्मा समूहले विशेष महाधिवेशनको माग अघि बढाएको हो ।

    विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

    देउवा पक्षका वरिष्ठ नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतले हस्ताक्षर फिर्ता लिन दबाब दिइरहेको दाबी गरिएको छ ।

    तर हालसम्म केवल ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन् ।

    २०७८ सालको मंसिरमा भएको १४औं महाधिवेशनमा ४,७४३ प्रतिनिधि थिए ।

    तिनमध्ये आधाभन्दा बढीले अहिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

    हस्ताक्षर पत्र सभापति, उपसभापति वा नबुझेको खण्डमा महामन्त्रीद्वयलाई बुझाउने तयारी गरिएको छ ।

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा निवासमा आक्रमणपछि सभापति देउवा सार्वजनिक रूपमा नदेखिएका कारण पनि पार्टीभित्र नेतृत्व र नीति परिवर्तनको माग तीव्र बनेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images