images
images
  • गिरीबन्धु टी–स्टेटविरुद्ध उजुरी नपरे ओलीलाई केही गर्न सकिँदैन : गृहमन्त्री अर्याल

    काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणबारे पीडित र सरोकारवालालाई औपचारिक उजुरी दिन आह्वान गरेका छन् ।

    सोमबार (असोज २७) साँझ सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले आफू मन्त्रीको हैसियतमा उजुरी हाल्दै हिँड्ने होइन, तर पीडितले लिखित उजुरी दिएपछि कानुनी प्रक्रिया अघि बढाइने बताए ।

    सञ्चारकर्मीले नागरिकले उठाउँदै आएका विवादित फाइलहरू खुल्ने छन् कि ? भन्ने प्रश्न सोध्दा मन्त्री अर्यालले भने, ‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन । पीडितले उजुरी दिनुपर्छ, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’

    उनका अनुसार राज्य संयन्त्र प्रमाण, कानुन र उजुरीका आधारमा निष्पक्ष रूपमा अघि बढ्नेछ ।

    ‘पहिला–पहिला आदेशले हुन्थ्यो, अहिले कानुनले हुन्छ,’ मन्त्री अर्यालले भने, ‘कुनै पनि पूर्वाग्रह बिना, प्रमाण र कानुनका आधारमा मात्रै काम हुनेछ । जहाँ प्रमाण छ, त्यहाँ परिणाम देख्नुहुन्छ ।’

    उनका अनुसार अहिलेको सुशासनको मुख्य मान्यता नै निष्पक्षता (फेयरनेस), कानुनी आधार र प्रमाणमा टेकेको शासन हो ।

    ‘कानुनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सजाय पाउँछ, राम्रो काम गरेको छ भने सम्मान र पुरस्कृत हुनुपर्छ,’ उनले स्पष्ट पारे ।

    गिरीबन्धु टी–इस्टेटलगायत विवादित जग्गा प्रकरणमा उजुरी आएमा प्रहरी, अख्तियार लगायतका निकायले कानुनी प्रक्रिया अघि बढाउने उनले बताए ।

    ‘मान्छेहरू ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुहोस् । हाम्रो नोटिसमा लिखित रूपमा ल्याइदिनुभयो भने राज्य संयन्त्र चल्छ,’ मन्त्री अर्यालले भने, ‘तर, मन्त्रीले उजुरी हाल्दै हिँड्दैन भन्ने बुझ्नुपर्छ ।’

    उनले टी–इस्टेट प्रकरणमा नागरिकले बुझाएको बैना रकम रिसवतको रूपमा प्रयोग भएको हुनसक्ने भन्ने आरोप पनि गम्भीरताका साथ उल्लेख गरे ।

    ‘पीडितले बैना दिएको छ, त्यो नै पछि निर्णय गराउनेमा प्रयोग भयो कि ? यो कुरा जसले भोगेको छ, त्यसैले ल्याएर राज्य संयन्त्रमा उजुरी गर्नुपर्छ,’ उनले भने ।

    मन्त्री अर्यालका अनुसार सरकारले कुनै पनि प्रभाव वा हस्तक्षेप बिना, कानुनी मार्गमा अघि बढ्ने नीति लिएको छ । यसका साथै उनले उजुरी नपरे केही गर्न नकिने संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images