काठमाडौं– समाजवादी मोर्चाको नाममा नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, उपेन्द्र यादवको जसपा र माधवकुमार नेपालको एकीकृत समाजवादीबीच सम्भावित पार्टी एकताको चर्चा चलिरहेका बेला वामपन्थीहरूबीच अर्को ध्रुवीकरणको तयारी पनि तीव्र भएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच बढ्दो घनिष्टता र पार्टीका दोस्रो–तेस्रो तहका केही नेताबीचको असन्तुष्टिका कारण नयाँ वाम मोर्चाको सम्भावना बढ्दै गएको हो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति) को अग्रसरतामा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य डा. विजय पौडेल लगायतका नेताहरूबीच वैकल्पिक वाम एकताको छलफल सुरू भएको छ ।
छलफलमा सहभागी वैज्ञानिक समाजवादीका नेता जागृत रायमाझीले भने, ‘जेनजी आन्दोलनपछि कम्युनिष्ट आन्दोलन पुनःपरिभाषित हुन आवश्यक भएकोले नयाँ दिशातर्फ छलफल अघि बढेको हो ।’
एकीकृत समाजवादीका एक नेताका अनुसार माओवादीसँगको एकताले आफ्ना कार्यकर्तालाई ‘अलपत्र पार्ने’ भएकाले केही नेताहरू अर्को ध्रुवीकरण वा एमाले फिर्तीबारे सोचिरहेका छन् ।
माओवादी पक्षका नेताहरूका अनुसार प्रचण्डले बैठकमै असहमत नेताहरूप्रति कठोर व्यवहार गर्न थालेपछि उनीहरूले वैकल्पिक विकल्प खोज्न थालेका हुन् ।
उता, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि बैठकमा एकता मन नपराउनेले आफ्नो बाटो रोज्न सक्छ भन्ने चेतावनी दिएपछि असन्तुष्टि झन् बढेको बताइन्छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्