काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देशको राजनीति हल्लिएको बेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले मंसिरको अन्त्यतिर महाधिवेशन गर्ने निर्णय गरेका छन् ।
आइतबार सम्पन्न सचिवालय बैठकले एमालेले मंसिरको अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्थान र मिति केन्द्रीय समिति बैठकले असोज २९ गते तय गर्नेछ ।
जेनजी विद्रोहपछि सत्ता गुमाएका अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढे पनि उनले राजीनामा नदिने अडान लिएका छन् ।
ज्ञवालीका अनुसार केही नेताले नेतृत्वको विकल्पबारे कुरा उठाए पनि ‘कित्ताकाट’ भएको दाबी गलत हो ।
भदौमा सम्पन्न विधान महाधिवेशनले उमेर र कार्यकालको सीमा हटाएर ओलीलाई पुनः अध्यक्ष बनाउने बाटो खोलेपछि उनले मंसिरको महाधिवेशन घोषणा गरेका हुन् ।
माओवादी केन्द्रले पनि मौजुदा केन्द्रीय समिति विघटन गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।
असोज ९–१० गतेको बैठकमा केही नेताले अध्यक्ष प्रचण्डलाई कार्यवाहक दिएर महाधिवेशनमा जान सुझाव दिएका थिए, तर बहुमतले प्रचण्डकै संयोजकत्वमा अघि बढ्ने निर्णय गरेको थियो ।
नेता हरिबोल गजुरेलका अनुसार माओवादीले एकीकृत समाजवादी, नेसपा र विप्लव नेतृत्वको नेकपासँग एकता महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा छलफल जारी छ ।
यसैबीच, नेपाली कांग्रेस भने नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेमा अनिश्चित देखिएको छ ।
जेनजी विद्रोहका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा असोज २३ यता बैठकमा सहभागी भएका छैनन् ।
उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गरिरहेका छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि र डा. शशांक कोइरालाले कार्यवाहक नेतृत्व दिन सुझाव दिएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशनमा जान प्रस्ताव गरेका छन् ।
२०७८ मंसिरमा एमाले र कांग्रेसको, र त्यही वर्ष पुसमा माओवादीको महाधिवेशन भएको थियो ।
जेनजी विद्रोह नभएको भए यी तीनै पार्टीले २०८३ मा महाधिवेशन गर्ने तयारी गरेका थिए ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्