काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयमा चासो देखाएकी छन् ।
आइतबार सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा उनले आगामी राष्ट्रिय सभा निर्वाचनमा जेनजीलाई समावेश गर्ने सम्भावनाबारे छलफल गरेकी हुन् ।
अध्यक्ष दाहालका अनुसार फागुन २० गते १८ सदस्यको पदावधि सकिने भएकाले माघ ११ गते निर्वाचन गर्न निर्वाचन आयोगले कार्यतालिका तय गरिसकेको छ ।
उक्त विषयमा प्रधानमन्त्री कार्की पनि सहमत रहेको उनले बताए ।
‘प्रधानमन्त्रीले जेनजी जस्तो नयाँ राजनीतिक शक्तिलाई राष्ट्रिय सभामा समेट्ने विषयमा चासो देखाउनुभयो,’ दाहालले भने, ‘यसका लागि राजनीतिक सहमति आवश्यक छ ।’
प्रधानमन्त्री कार्कीले छठपछि राष्ट्रिय सभा सञ्चालन गर्ने तयारी गरेको दाहालले जानकारी दिए ।
सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई बैठक कक्षका रूपमा प्रयोग गर्ने प्रस्तावमा पनि कार्की सकारात्मक रहेको उनले बताए ।
त्यसैगरी, सभाका उपाध्यक्ष विमला घिमिरेका लागि उचित आवासको व्यवस्था गर्न र राष्ट्रिय सभा सदस्यहरूको सेवा–सुविधा कटौती नगर्न दाहालले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।























