काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कार्यवाहक सभापति नतोकिने बताएका छन् ।
महाधिवेशनअघि कार्यवाहक दिने चर्चा भइरहे पनि देउवाको सचिवालयले यसबारे कुनै छलफल नभएको स्पष्ट गरेको छ ।
स्वकीय सचिव भानु देउवाका अनुसार अहिलेसम्म कार्यवाहक दिने विषयमा छलफलै भएको छैन, तयारी पनि छैन ।
गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा आक्रमणपछि देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।
तर, उनी मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा उपस्थित हुने र सम्बोधन गर्ने तयारीमा छन् ।
पार्टी स्रोतका अनुसार बैठक लामो चलेमा देउवाले बैठक अवधिमात्र कार्यवाहक तोक्ने सम्भावना छ ।
तर, महाधिवेशन नहुञ्जेलसम्मका लागि कार्यवाहक दिने सोच देउवाको छैन ।
मंसिर मसान्तमा देउवाको चार वर्षे कार्यकाल पूरा हुँदैछ र विधानअनुसार उनी पुनः सभापति बन्न पाउँदैनन् ।
उनले पछिल्ला दिनमा राजनीतिबाट अवकाश लिने संकेत पनि दिएका छन् ।
मंगलबार सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन मिति तय गर्नु हो ।
हालसम्म उपसभापति पूर्णबहादुर खड्काले पदाधिकारी र कार्यसम्पादन समिति बैठकहरू सञ्चालन गर्दै आएका छन् ।
प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार शनिबार बसेको पदाधिकारी बैठकमा पनि कार्यवाहकबारे कुनै चर्चा भएको थिएन ।
तर, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले देउवाले कार्यवाहक तोक्नुपर्ने धारणा राखेका छन् ।
देउवाका नजिकका नेता उदयशमशेर राणाले समेत महाधिवेशन तयारीका लागि कार्यवाहक तोक्न सुझाव दिएका छन् ।
त्यस्तै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि कार्यवहाक तोक्ने पक्षमा छैनन् ।























