काठमाडौं– नेकपा (एमाले)को १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग ५ पदाधिकारीले गरेका छन् ।
जबकि बाँकी १३ जनाले नेतृत्व परिवर्तनको विषय आगामी महाधिवेशनमै उठाउनुपर्ने धारणा राखेका छन् ।
भक्तपुरको गुण्डुस्थित ओलीको अस्थायी निवासमा शुक्रबार र आइतबार सम्पन्न बैठकले मंसिरको अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मिति भने केन्द्रीय कमिटी बैठकले तय गर्नेछ ।
असोज २९ देखि ३१ गते ललितपुरको भनिमण्डलस्थित राम बाग महल पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्धका कार्यक्रमसमेत तय गर्ने तयारी गरेको छ ।
बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले ओलीले राजीनामा दिएर नयाँ पुस्ताबाट महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्न सुझाव दिएका हुन् ।
अन्य पदाधिकारीहरूले भने नेतृत्वको विषय महाधिवेशनमै टुंग्याउनुपर्ने बताएका छन् भने ओलीले यसअघि नै आफू बाँचुञ्जेल अरूलाई आश नगर्न स्पष्ट पारिसकेका छन् ।























