images
images
  • एमालेमै फर्किने झलनाथको चाहाले रोकियो माओवादी–एकीकृत समाजवादीको पार्टी एकता

    काठमाडौं– समाजवादी मोर्चाका चार दलबीच पार्टी एकीकरणका अन्तिम तयारी भइरहँदा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने एकताको विपक्षमा उभिएका छन् ।

    आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा खनालले पठाएको लिखित सन्देशमा उनले अहिले कुनै पनि दलसँग एकता गर्ने उपयुक्त समय नभएको उल्लेख गर्दै यस्तो कदमले पार्टीलाई गलत दिशातर्फ धकेल्ने चेतावनी दिएका छन् ।

    खनालले भनेका छन्, ‘यो पार्टी एकीकरण गर्ने मौसम होइन, हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौं ।’

    उनले एमालेबाट अलग भएर नयाँ पार्टी बनाएको चार वर्षको यात्राको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थी प्रभावमा परेको आरोप लगाएका छन् ।

    यसैबीच, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्र राय यादवको समाजवादी पार्टीबीच पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

    एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष डा. बेदुराम भुषालको संयोजकत्वमा गठन भएको वार्ता समितिले वैचारिक, सांगठनिक र नेतृत्व संरचनाबारे छलफल तीव्र पारेको छ ।

    भुषालका अनुसार माओवादी केन्द्रसहितका दलहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।

    अध्यक्ष माधव नेपालले पनि विचार मिल्ने दलहरूसँग छिट्टै निष्कर्षमा पुग्न कार्यदललाई निर्देशन दिएका छन् ।

    पार्टीको स्थायी कमिटी बैठक २९ असोजमा बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक भर्चुअल रूपमा आयोजना हुने तयारी भइरहेको उपमहासचिव रामकुमार भट्टराईले जनाएका छन् ।

    उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनको तयारीसहित पार्टी एकीकरण गरेर संयुक्त महाधिवेशन गर्ने आन्तरिक गृहकार्य अघि बढाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images