
काठमाडौं– चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको सुन तस्करी प्रकरणमा आइतबार महरालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महरामाथि भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको करिब ९ किलो सुन त्रिभुवन विमानस्थलमा नियन्त्रणमा परेपछि महरा र उनका छोरा राहुलले छुटाउन सक्रिय भूमिका खेलेका थिए ।
अनुसन्धानमा उनीहरूले भन्सार कर्मचारीहरूसँग २५६ पटक फोन सम्पर्क गरेको प्रमाण भेटिएको छ ।
भेप चोरी भएपछि मात्रै तस्करीको रहस्य खुलेको थियो ।
यसअघि राहुलविरुद्ध पूरक मुद्दा दायर भए पनि महरा छुटेका थिए ।
स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएपछि केस थन्किएको थियो ।
तर, डेढ वर्षपछि सीआईबीले पुनः पक्राउ गरेको हो ।
यसै प्रकरणमा माओवादी नेता तथा पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र र दीपेश, साथै तिनका ‘वैदेशिक मामिला विज्ञ’ जीवन गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ ।
२०८० फागुनमा सार्वजनिक गरेको भिडियोअनुसार जितेन्द्रले चीनमा ४ किलो सुन उधारोमा किनेर नेपाल भित्र्याएका थिए ।
उनले बाबुको पद दुरुपयोग गरी नक्कली परिचयपत्र प्रयोग गरेको प्रमाण भेटिएको छ ।
दीपेश पनि ६१ किलो र ९ किलो सुन तस्करी, नक्कली भुटानी शरणार्थी र सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।
जीवन गुरुङ १४ किलो सुन प्रकरणमा पक्राउ परेका थिए ।
भन्सार ऐनअनुसार अनुमतिभन्दा बढी सुन ल्याउनु दण्डनीय अपराध हो ।
३ करोडभन्दा बढीको बिगो भए ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
महरा र पुन परिवारविरुद्ध यही दफाअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्