काठमाडौं– पूर्व माओवादी पृष्ठभूमिका पदाधिकारीहरूले साथ छाडेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र स्पष्ट रूपमा अल्पमतमा पुगेका छन् । सचिवालय बैठकमा एजेन्डा तय गर्ने र निर्णय प्रक्रियामा लामो समयदेखि एकछत्र प्रभाव जमाएका ओली अहिले पदाधिकारीहरूको समर्थन गुमाउँदै एक्लिँदै गएका छन् ।
अघिल्ला दिनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिवद्वय लेखराज भट्ट र टोपबहादुर रायमाझीको साथ लिएर शक्ति सन्तुलन कायम राख्दै आएका ओलीको अंकगणित अहिले उल्टिएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि निष्क्रिय बनेका छन्, जबकि बादल र भट्ट दुवैले पनि ओलीको पक्ष त्याग्दै पुनर्गठन पक्षमा उभिएका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष बादलले नेतृत्वको कमजोरीकै कारण हालको राजनीतिक संकट आएको भन्दै पार्टीलाई नयाँ स्वरूपमा पुनर्गठन गर्नुपर्ने धारणा प्रस्तुत गरे । उनका अनुसार ओलीले अब मार्गप्रशस्त गर्दै अध्यक्ष पद छोड्नुपर्छ । यसअघि हरेक बैठकमा ओलीको भनाइलाई समर्थन गर्दै आएका बादलको यो धारणा पार्टीभित्र ठूलो सन्देशको रूपमा लिइएको छ ।
त्यो बैठकमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गुरुप्रसाद बराल र महासचिव शंकर पोखरेल तथा उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए । बराल, पोखरेल र ज्ञवालीबाहेकका अधिकांश नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा धारणा राख्दै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । बाँकी उपमहासचिव र सचिवहरू आइतबार बोल्ने तय गरिएको छ ।
स्रोतका अनुसार, ओली पक्षमा रहँदै आएका सचिव लेखराज भट्ट पनि अब पुनर्गठन पक्षमा खुलेर उभिन तयार छन् । उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिव पद्मा अर्याल भने अझै ओली नजिक मानिन्छन् । तर सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले पहिले नै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइसकेका छन् । मध्यमार्गी भनिएका सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि अहिले ओलीको समर्थनबाट हट्ने संकेत दिएका छन् ।
उपाध्यक्ष बादलका अनुसार, पार्टी एकतापछि बनेको तत्कालीन नेकपाको सचिवालयमा उनले नै ओलीलाई अल्पमतमा पर्नबाट बचाएका थिए । तर अहिले परिस्थिति फरक बनेको भन्दै उनले स्पष्ट रूपमा ओलीसँग वैचारिक दूरी कायम गरेको सन्देश दिएका छन् ।
ओलीलाई साथ नदिन कार्यकर्ताको दबाब
सचिवालय बैठक चलिरहेका बेला पूर्व माओवादी पृष्ठभूमिका एमाले कार्यकर्ताहरूले उपाध्यक्ष बादल र सचिव भट्टमाथि ओलीको पक्षमा नउभिन दबाब बढाएका छन् । उनीहरूले देशभर नेतृत्व परिवर्तनको माग तीव्र बनेको अवस्थामा पुरानो ढाँचा जोगाउन नहुने चेतावनी दिएका छन् । स्थानीय कार्यकर्ताहरूले नेताहरूलाई भेटेर र फोनमार्फत् ओलीको बचाउ नगर्न आग्रह गर्दै, “हामी नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा छौँ, त्यसअनुसार नै तपाईंहरूले धारणा राख्नुपर्छ,” भन्ने सन्देश पठाइरहेका छन् ।
जेनजी आन्दोलनको जिम्मेवारी लिन माग
सचिवालयमा ओलीमाथि २३ र २४ भदौको ‘जेनजी आन्दोलन’बाट उत्पन्न राजनीतिक संकटको नैतिक जिम्मेवारी लिन माग गरिएको छ । तत्कालीन प्रधानमन्त्रीका रूपमा आन्दोलनलाई बेवास्ता गरेको, युवापुस्ताको आक्रोश बुझ्न नसकेको र त्यसका परिणामस्वरूप देश अस्थिर बनेको भन्दै नेताहरूले ओलीलाई राजनीतिक जिम्मेवारी स्वीकार्न आग्रह गरेका छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले खुलस्तै ओलीको राजीनामा माग गर्दै भनिन्, “७० वर्ष पुगेका नेताहरूले अब बिदा लिनुपर्छ । म पनि छाड्न तयार छु । सुरेन्द्र, शंकर, प्रदीप, योगेशजस्ता युवा नेताहरूले पार्टी चलाउन सक्छन् । नयाँ पुस्तालाई अवसर दिनुपर्छ ।”
बैठक स्थगित, ओलीको संकटमोचन प्रयास
शुक्रबारको बैठकमा धेरै नेताहरूले धारणा राखेपछि बाँकी सदस्यहरूको पालोका लागि शनिबार बैठक बोलाइएको थियो । तर शनिबार विपक्षी धार बलियो देखिएपछि अध्यक्ष ओलीले स्वास्थ्य समस्याको कारण देखाउँदै बैठक स्थगित गरे । अब बैठक आज (आइतबार) गुन्डुमा बस्ने तय भएको छ ।
स्रोतहरूका अनुसार, ओलीले शनिबारको दिन प्रयोग गरेर असन्तुष्ट नेताहरूलाई व्यक्तिगत रूपमा भेट्दै समर्थन फिर्ता ल्याउने प्रयास गरेका छन् । पार्टीभित्र तीव्र दबाबमा रहेका ओलीले संकट समाधानका लागि आगामी महाधिवेशनको मिति तय गर्दै नेतृत्व परिवर्तनलाई समयमै टार्ने रणनीति बनाइरहेको बुझिएको छ ।
अल्पमतमा पुगेका ओलीका लागि आइतबारको सचिवालय बैठक निर्णायक मोड सावित हुने अपेक्षा गरिएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्