images
images
  • ओलीको आडमा महेशको दादागिरी : गृहमन्त्री, कांग्रेस, माओवादी र रास्वपालाई धम्की

    काठमाडौं– जेन–जी आन्दोलनपछि उत्पन्न त्रसित र तरल राजनीतिक माहोलबीच एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सक्रियता अब ‘महेश महŒवाकांक्षा’ का रूपमा व्याख्यित हुन थालेको छ ।

    प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको सुरक्षामा बसेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘घरफिर्ती स्वागत’ गर्नेदेखि राजनीतिक पुनःसक्रियताको वातावरण बनाउनेसम्मको भूमिका खेलेका बस्नेतले अहिले आफ्नो राजनीतिक अभियानलाई तीव्रता दिएका छन् ।

    उनी निकट समूहले सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित थापागाउँलाई ‘एमालेको नयाँ हेडक्वार्टर’ का रूपमा प्रचार गर्न थालेका छन्, जहाँ ओलीलाई बस्ने व्यवस्था बस्नेतले नै मिलाएका हुन् ।

    पार्टीका वरिष्ठ उपाध्यक्षदेखि स्थायी समिति र केन्द्रीय तहका नेताहरूको भेटघाट, बैठक र कार्यक्रमहरू समेत गुन्डुमा आयोजना हुन थालेपछि एमालेभित्र बस्नेत र गुन्डुको नाम एकैसाथ उच्चारित हुन थालेको छ । तर त्यससँगै पार्टीभित्रको असन्तुष्टि पनि बढेको छ ।

    ओलीको निकट मानिँदै आए पनि उनी प्रधानमन्त्री हुँदा विभिन्न विवादमा परेर बालुवाटार प्रवेश निषेधमा परेका बस्नेत अहिले फेरि आफूलाई ‘अध्यक्षपछिको शक्ति’का रूपमा प्रस्तुत गर्न खोजिरहेको भन्दै कतिपय एमाले कार्यकर्ता असहज महसुस गरिरहेका छन् ।

    २०६४ सालतिर माओवादी निकट वाईसीएलसँगको भिडन्तपछि युवा परिचालनमार्फत पार्टीभित्र उदाएका बस्नेतले आफ्नो पहुँच र प्रभावको दुरुपयोग गरेको आरोप पुरानो हो ।

    एमाले अनुशासन आयोगका एक सदस्यका अनुसार, “पार्टीभित्रका कैयौं कार्यकर्ताले उनीबाट अन्याय भोगेको गुनासो गरेका छन्, तर उनी हरेकपटक अध्यक्षको छायाँभित्र सुरक्षित रहँदै आएका छन्।”

    बस्नेतको हालको सक्रियतालाई ओली पुनःस्थापनाको अभियानका रूपमा हेरिए पनि, पार्टीभित्र अर्का नेताहरूले यसलाई व्यक्तिगत सशक्तीकरणको प्रयास भन्दै सचेत रहन आग्रह गरेका छन् ।

    गुन्डुमा आयोजित कार्यक्रमहरूमा बस्नेत र ओली एकसाथ युवाहरूको घेरामा भाषण गरिरहेका दृश्यहरू पार्टीभित्र नै असहजता र आशंका सिर्जना गर्ने कारण बनेका छन् ।

    अरूको आधार, बस्नेतको बाजी

    सूर्यविनायक–७ गुन्डु, जहाँ अहिले बस्नेतको अभियान केन्द्रित छ, वास्तवमा स्थानीय जनाधारका हिसाबले वासुदेव थापा र रवीन्द्र सापकोटाको क्षेत्र मानिन्छ दुबै जना सूर्यविनायक नगरपालिकामा क्रमशः दुईपटक नगरप्रमुख र वडाध्यक्षका रूपमा निर्वाचित भइसकेका छन् ।

    त्यसैगरी, बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको घर पनि यही गुन्डुमा पर्छ ।

    स्थानीयको भनाइमा, “ओली कमरेड हाम्रो गाउँमा बस्न आउनु गर्वको कुरा हो, तर महेशजीको बोली र व्यवहारले डर र लाज दुवै बढाएको छ।”

    स्थानीयको भनाइअनुसार, ओली बस्न थालेपछि केही घर खाली गराइएका छन्, करिब ३ सय युवालाई सुरक्षाका नाममा राखिएको छ, र दैनिक खर्च अस्वाभाविक रूपमा बढेको छ ।

    २०७४ र २०७९ दुवै स्थानीय चुनावमा ठूला मतान्तरले विजयी भएका वडाध्यक्ष र स्थानीय नेताहरू रवीन्द्र सापकोटा, उमेश कार्की, ईश्वर थापा, मञ्जु कार्की लगायतका घरहरू ओली र उनको टिम बसोबासका लागि तयारी अवस्थामा छन् ।

    एमालेभित्रका केही नेताहरू अहिले ओलीलाई गुन्डुबाट बाहिर ल्याएर पार्टी गतिविधि पुनःकेन्द्रित गर्नुपर्ने अभियानमा सक्रिय छन् ।

    उनीहरूको भनाइमा, “गुन्डु एमालेको शक्ति केन्द्र होइन, महेश बस्नेतको निजी महत्वाकांक्षाको प्रयोगशाला बन्दै गएको छ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images