
काठमाडौं– भदौ २४ गतेको घटनासँग सम्बन्धित विषयमा काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ, विभिन्न कन्टेन्ट क्रियटर, कलाकार र युट्युबरहरूमाथि किटानी जाहेरी दर्ता गरिएको छ ।
अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गराएको जाहेरीमा राज्यविरुद्धको कसुर, आतंकवादसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजाना तथा विष्फोटक पदार्थसम्बन्धी कसुर, साथै राष्ट्रिय तथा सार्वजनिक सम्पत्तिविरुद्धका कसुरलगायतका आरोप समावेश छन् ।
जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने गतिविधि सञ्चालन गरिएको दाबी जाहेरीमा गरिएको छ ।
जाहेरीमा कलाकार संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी र रामकुमार खड्कालगायतविरुद्ध कारबाहीको माग गरिएको छ ।
जाहेरीवालाले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट संकलित फोटो तथा भिडियोहरू प्रमाणका रूपमा प्रस्तुत गर्दै ती व्यक्तिहरूले तोडफोड र आगजनीका गतिविधि निर्देशन गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्