काठमाडौं– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको बताएका छन् ।
शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा जेनजी युवाको भावना सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियाअनुसार ओली नै सिफारिसकर्ता रहेको स्पष्ट पारे ।
‘कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्ने केपी ओली नै हुन्,’ उनले भने, ‘राष्ट्रपतिले उनकै लिखित सिफारिसमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । यो सरकार हावामा बनेको होइन ।’
देश गम्भीर सङ्कटमा रहेको स्वीकार गर्दै प्रचण्डले यसको समाधानका लागि सबै दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी समेटिएको सर्वपक्षीय राजनीतिक सहमतिको आवश्यकता रहेको बताए ।























