images
images
  • माओवादी, एस र नेकपाबीच एकताको तयारी अन्तिम, आधिकारिक निर्णयको पखाईमा प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का औपचारिक निर्णय कुरिरहेको छ ।

    असोज २० गतेको सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी, नेकपा र नेसपासँग एकताको पहल भइरहेको जानकारी दिएका थिए ।

    माओवादीका सचिवालय सदस्य गिरिराजमणि पोखरेलका अनुसार एकीकृत समाजवादीसँग एकता प्रक्रियामा द्रुत छलफल भइरहेको छ ।

    माधवकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् भने नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि स्थायी समिति र केन्द्रीय समिति बैठक तय गरेका छन् ।

    यी बैठकका निर्णयपछि मात्रै माओवादीले अर्को सचिवालय बैठक बस्ने तयारी गरेको छ ।

    पोखरेलका अनुसार एकीकृत समाजवादी एकताप्रति बढी सकारात्मक देखिएको छ भने विप्लव समूहले सबै पुराना नेतृत्वलाई बिदा गरेर नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव अघि सारेपछि केही मतभेद देखिएको छ ।

    जेनजी विद्रोहपछिको राजनीतिक अवस्थालाई मूल्याङ्कन गर्दै प्रचण्डले माधव नेपाल, विप्लव, अशोक राई, महेन्द्र यादव र प्रेमबहादुर सिंहसँग नियमित संवाद गरिरहेका छन् ।

    पार्टी एकता प्रक्रियामा माओवादी र एकीकृत समाजवादीबीच मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने र पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने प्रारम्भिक सहमति बनेको छ ।

    संयोजक र सह–संयोजक प्रणालीमा जानेबारे पनि सहमति नजिक पुगेको माओवादी स्रोतले जनाएको छ ।

    यदि दुवै पार्टीको संस्थागत निर्णय सकारात्मक भए, कात्तिकको पहिलो वा दोस्रो हप्तामा औपचारिक एकता घोषणा हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images