images
images
  • कांग्रेस, एमाले, रास्वपा र एकीकृत समाजवादीको बैठक बस्दै, यी एजेन्डाहरूमा हुँदैछ छलफल (एजेन्डासहित)

    काठमाडौं– प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)का बैठकहरू आज (असोज २४) बस्दैछन् ।

    सानेपामा जारी नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजे पुनः बस्दैछ ।

    पछिल्ला राजनीतिक घटनाक्रम, संसद् पुनर्स्थापना, महाधिवेशन तयारीलगायत विषयमा छलफल भइरहेको छ ।

    सभापति शेरबहादुर देउवा घाइते रहेकाले बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

    त्यस्तै, एमालेको सचिवालय बैठक बिहान ११ बजे गुण्डुमा बस्नेछ ।

    बैठकमा जेन्जी आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको संगठनात्मक तयारी, आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा र सम्भावित निर्वाचनका विषयमा छलफल हुनेछ ।

    असोज २७ का लागि तय बैठक तयारी नपुगेकाले अब असोज २९ देखि ३१ गतेसम्म बस्ने भएको छ ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दै छ ।

    प्रवक्ता मनिष झाका अनुसार बैठकमा आगामी विस्तारित बैठकका एजेन्डा, सहभागिता, व्यवस्थापन तथा पार्टी अभियानसम्बन्धी विषयमा छलफल हुने छ ।

    यता, एकीकृत समाजवादीको सचिवालय बैठक पनि आज बस्दै छ ।

    बैठकले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति टुंग्याउनेछ ।

    पार्टीले समान विचार भएका वाम–समाजवादी शक्तिसँग एकता र सहकार्यका विषयमा छलफल गर्दै आगामी फागुनमा हुने निर्वाचनमा सहभागी हुने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images