images
images
  • रास्वपा सभापति कुलमान बन्दै, रवि र बालेन नियमित छलफलमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व परिवर्तनबारे छलफल तीव्र बनेको छ ।

    सभापति रवि लामिछानेको सट्टामा उर्जामन्त्री कुलमान घिसिङलाई कार्यकारी नेतृत्वमा ल्याउने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार हाल रवि, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र घिसिङबीच चरणबद्ध छलफल जारी छ ।

    बालेनसँगको कुराकानीमा पार्टीको नाम र चुनाव चिन्ह (रास्वपा र घण्टी) यथावत् राख्ने सहमति भइसकेको छ ।

    सभापतिका लागि सबै पक्षलाई स्वीकार्य व्यक्ति खोज्ने क्रममा घिसिङ उपयुक्त ठहरिएपछि बुधबार उनीसँग पनि विस्तृत छलफल भएको बताइएको छ ।

    घिसिङले यसअघि नयाँ दल दर्ता गर्ने तयारी गरेका थिए ।

    तर, रवि र बालेनको समर्थन पाएपछि त्यो प्रक्रिया रोकिएको र अब रास्वपाको नेतृत्वमा जाने अन्तिम निर्णय भएपछि मन्त्री पदबाट राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

    २३–२४ भदौको जेन–जी आन्दोलनपछि नख्खु जेल प्रकरणका कारण रास्वपाभित्र मतभेद बढेको थियो ।

    त्यसयता बालेनलाई नयाँ राजनीतिक दल खोल्न दबाब बढ्दै गएको थियो ।

    तर, उनले नयाँ दल गठनभन्दा वैकल्पिक शक्तिहरूलाई एकजुट गरेर रास्वपामार्फत अघि बढ्ने रणनीति लिएका छन् ।

    स्रोतका अनुसार बालेनलाई कुनै पद चाहिएको छैन ।

    उनी नेतृत्वमा बस्ने वा प्रधानमन्त्री बन्ने उद्देश्यमा नभई वैकल्पिक शक्तिको एकता र सुशासन स्थापना चाहन्छन् ।

    यसबीच रास्वपाले एक संवाद समिति गठन गरी आन्दोलनपछि उत्पन्न परिस्थिति र दलभित्रको असन्तुष्टिबारे छलफल गर्दै आएको छ ।

    रविलाई संरक्षक वा सल्लाहकार भूमिकामा राख्ने प्रस्तावसमेत अन्तिम चरणमा रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images