काठमाडौं– आगामी निर्वाचनको तयारी स्वरूप नेकपा (माओवादी केन्द्र) ले देशभरका आफ्ना सबै तहका पार्टी संरचनालाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ ।
पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा कार्यकर्ताहरूलाई स्थानीय निर्वाचन कार्यालयसँग समन्वय गर्दै आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका सबै नागरिकको नाम दर्ता गराउन आग्रह गरिएको छ ।
साथै विवाह, बसाइँ सराइँ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पूरा गर्न र नाम, जन्ममिति वा विवरणमा त्रुटि भएका दर्ता सच्याउन पनि भनिएको छ ।
परिपत्रमा भनिएको छ, ‘मतदाता नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो र महत्वपूर्ण चरण हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई स्थानीय निर्वाचन कार्यालयसँग सक्रिय समन्वय र सहजीकरण गर्नुपर्छ ।’
माओवादी केन्द्रले यस अभियानलाई निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग–सँगै लैजाने र यसलाई संगठन सुदृढीकरण तथा जनसंपर्क विस्तारको अवसरका रूपमा प्रयोग गर्ने नीति लिएको जनाएको छ ।























