काठमाडौं– पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार दायर गरेको मुद्दामा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमी व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायतलाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध ७८–७८ लाख रुपैयाँ, बलराम अधिकारी र रामचन्द्र अधिकारीविरुद्ध ५३–५३ लाख रुपैयाँ, यामकुमारी गुरुङ र खमबहादुर पुनविरुद्ध २५–२५ लाख रुपैयाँ तथा तुल्सीराम बुढामगरविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
२०७९ असार २८ गते तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत प्रमुखको सरुवासम्बन्धी ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
उक्त प्रकरणमा भूमी व्यवस्था मन्त्री बलराम अधिकारी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएका थिए ।
अख्तियारका अनुसार जग्गा दर्ता मिलाइदिने नाममा मन्त्रीदेखि सचिवस्तरसम्मको संलग्नता रहेको प्रमाणित हुने गरी अडियो र म्यासेजहरू सार्वजनिक भएका थिए ।
पोखराका सुजन लामाले मन्त्री बलराम अधिकारीका छोरा मनोजलाई ३२ लाख रुपैयाँ बुझाएको र उनका भाइ शालिकराम अधिकारीको खातामा थप ५ लाख जम्मा भएको विवरणसमेत सार्वजनिक भएको थियो ।























