काठमाडौं– जेनजी आन्दोलनपछि एक हप्ता सैनिक सुरक्षामा बसेर निस्केका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पद त्याग्न दबाब बढ्दै गएको छ ।
तर, ओलीले आफू अझै सक्षम रहेको भन्दै अध्यक्ष नछोड्ने स्पष्ट गरेका छन् ।
हाल उनी सार्वजनिक कार्यक्रमबाट टाढा रहे पनि प्रदेश र जिल्लास्तरका अध्यक्ष तथा इन्चार्जसँग भर्चुअल संवाद गर्दै धारणा बुझ्ने र आफ्ना विचार राख्ने काममा छन् ।
असोज २४ गते बस्ने सचिवालय बैठकमा ओलीको राजीनामाको माग मुख्य विषय बन्ने तयारी भइरहेको छ ।
त्यसपछि असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक हुने छ ।
त्यसैको तयारीस्वरूप ओलीले पछिल्ला दिनमा सबै प्रदेशका नेताहरूसँग संवाद गरेका हुन् ।
बागमती, मधेश र कोशी प्रदेशका नेतासँग उनले कम बोलेर सुझाव मात्र सुनेका थिए भने गण्डकी र कर्णालीका नेतासँग खुलेर नेतृत्व र आगामी कार्यक्रमबारे छलफल गरेका थिए ।
ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाबारे पनि कोशीका नेतासँग विचार साटेका थिए ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि संसद् विघटनको सिफारिसबारे एमाले असन्तुष्ट रहेको जानकारी दिएका छन् ।
कोशीका नेताहरूले तत्काल महाधिवेशनमा जानुपर्ने माग राखेका छन् भने बुधबार ओलीले लुम्बिनी र सुदूरपश्चिमका नेताहरूसँग पनि अन्तिम चरणको संवाद पूरा गरेका छन् ।























