काठमाडौं । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरूप्रति चौधरी ग्रुपले गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै शहिद परिवारप्रति विशेष सहयोगको घोषणा गरेको छ ।
सम्पूर्ण शहिद परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै चौधरी ग्रुपले आन्दोलनका क्रममा आफ्ना निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षतिप्रति पनि दुःख प्रकट गरेको छ ।
ग्रुपले यस्तो कठिन अवस्थामा पनि पुनर्निर्माण र राष्ट्रिय पुनर्जागरणको भावनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले ‘जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
चौधरी ग्रुपले सम्पूर्ण शहिद परिवारहरूसँग सम्पर्क गरिरहेको छ ।
साथै, शहिद परिवारका सदस्यहरूलाई आवश्यक प्रक्रिया सहज बनाउन ग्रुपले कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क व्यक्ति तोकेको छ ।
इच्छुक परिवारजनले पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्नेछन् ।
चौधरी ग्रुपले यसअघि पनि प्राकृतिक विपद्, महामारी र अन्य संकटका समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो पहललाई नागरिक समाजले निजी क्षेत्रको सकारात्मक भूमिका र सामाजिक संवेदनशीलताको उदाहरणका रूपमा स्वागत गरेको छ भने कतिपयले आगामी सम्भावित आन्दोलनबाट जोगिन जाल थापेको टिप्पणी गरेका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्