काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त वीरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रद्धा सुमन सभा आयोजना गर्ने भएको छ ।
पार्टीले भोलि बिहीबार साँझ ६ बजे देशभर एकैसाथ श्रद्धा सुमन सभा आयोजना गर्ने निर्णय गरेको हो ।
रास्वपाले उक्त कार्यक्रम जेन्जी आन्दोलनको एक महिनाको स्मृतिमा आयोजना गर्न लागेको बताएको छ ।
कार्यक्रममा सहभागी भएर आन्दोलनका क्रममा ज्यान गुमाएका वीरहरूप्रति सम्मान र श्रद्धा व्यक्त गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ ।
रास्वपाले देशका सबै जिल्ला र स्थानीय तहमा एकै समयमा दीप प्रज्वलन गरेर सहादत प्राप्तहरूको सम्झनामा एक मिनेट मौनधारण गर्ने तयारी गरेको बताएको छ ।
आन्दोलनको क्रममा आन्दोलनकारीहरूमाथि भएको राज्य दमनको विरोध र न्यायको मागसहित देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् ।
रास्वपाले यसअघि पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संयम र वार्तामार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको थियो ।
























