काठमाडौं– एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न वर्तमान सरकारलाई चुनौती दिएका छन् ।
बुधबार च्यासल पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर ।”
यसअघि जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा केही जेनजी अगुवाहरूले बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएका थिए, जुन उजुरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो ।
बस्नेतले दलका नेताहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयमा पनि आक्रोश पोखे ।
उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट अनुसन्धान सुरु हुनुपर्ने बताए ।
अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने भन्दै उनले भने, “महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने अरुलाई आरोप लगाउन पाइन्छ त ?”
बस्नेतले जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिबारे ओलीले धारणा सार्वजनिक गरिसकेको स्मरण गराउँदै भने, “भोलि पार्टीका महत्वपूर्ण नेताहरूले धारणा राख्छन् । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठकमा एमालेले आफ्नो अफिसियल धारणा सार्वजनिक गर्नेछ ।”























