काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज (आश्विन २२ गते) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा पछिल्ला राजनीतिक तथा संगठनात्मक गतिविधिसँगै आगामी योजनाबारे छलफल हुने छ ।
सचिवालय बैठकका लागि तय गरिएको प्रस्तावित कार्यसूचीमा चार प्रमुख एजेन्डा समावेश छन् ।
तीमध्ये पहिलो एजेन्डा विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे केन्द्रित रहने छ ।
यससँगै विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे विस्तृत योजना तयार पार्ने तयारी गरिएको छ ।
तेस्रो एजेन्डा अन्तर्गत ‘सद्भाव यात्रा’को कार्यसूचीबारे छलफल हुनेछ, जसलाई पार्टीले विभिन्न प्रदेशमा संवाद र जनसम्पर्क अभियानका रूपमा अघि बढाउने तयारी गरेको छ ।
बैठकको अन्तिम एजेन्डा ‘विविध’ राखिएको छ, जसअन्तर्गत हालका राजनीतिक परिस्थितिका अन्य विषयमा समेत छलफल हुने बताइएको छ ।
रास्वपाले पछिल्ला हप्तामा देशभर विभिन्न जनसम्पर्क कार्यक्रम र विपद प्रभावित क्षेत्रमा सहयोग अभियान सञ्चालन गर्दै आएको छ ।
आजको बैठकले ती गतिविधिलाई संस्थागत रूप दिन र आगामी अभियानको खाका तय गर्ने अपेक्षा गरिएको छ ।























