काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी (नेसपा) एकताको अन्तिम तयारीमा जुटेका छन् ।
असोजभित्रै एकता टुंग्याउने प्रयास भइरहेको र ढिलोमा कात्तिक दोस्रो हप्ताभित्र नयाँ पार्टी घोषणा गर्ने तयारी नेताहरूले बताएका छन् ।
माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब दुई दिनभित्र कम्तीमा दुई दलबीच एकताको निचोड निकालिने बताएका छन् ।
सोमबार पेरिसडाँडामा बसेको बैठकमा उनले माधवकुमार नेपाल र महेन्द्र राय यादवसँग सहमति नजिक पुगेको बताए ।
एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले पनि घनीभूत छलफल भइरहेको स्वीकार गर्दै संगठनात्मक मोडल र नाममा छलफल बाँकी रहेको बताए ।
उनका अनुसार, अन्य वाम दलहरूलाई समेत सहमतिमा लिएर व्यापक एकता गर्ने प्रयास भइरहेको छ ।
‘विप्लव, अशोक राई लगायतसँग पनि संवाद चलिरहेको छ,’ भुसालले बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने असोजभित्रै वा ढिलोमा कात्तिक दोस्रो हप्तासम्म एकता औपचारिक हुने दाबी गरे ।
तर, प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग हाल औपचारिक एकता प्रक्रिया सुरु नभएको प्रष्ट पारे ।
यसबीच, माओवादीले मंसिर अन्त्यमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
तर, एकता टुंगिएपछि महाधिवेशन आवश्यक नपर्ने वा संयुक्त महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको माओवादी नेताहरूले बताएका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्