काठमाडौं– जेन्जी अभियन्ताहरूले सोमबार ‘एरेष्ट केपी ओली’ अभियानलाई तीव्रता दिएका छन् ।
उनीहरूले भदौ २३ मा प्रदर्शनकारीमाथिको गोलीबारीको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारसँग माग गरिरहेका छन् ।
‘हामी नेपाल’का संयोजक सुदन गुरुङसहितको टोलीले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिन खोजे पनि प्रहरीले दर्ता गरेन र केन्द्रीय सुरक्षा समितिबाट लिखित निर्देशन आवश्यक पर्ने जवाफ दिएको बताइएको छ ।
गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको र गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनको आधारमा वा तत्काल ’एक्सन’ लिने विषयमा सरकार भित्र मतभेद रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले कार्की नेतृत्वको छानबिन आयोगले काम गरिरहेकोले तत्काल पक्राउ गर्न नहुने अडान राख्दै आएको स्रोतको भनाइ छ ।
जेनजी भित्रै पनि एकमत छैन ।
रक्षा बम नेतृत्वको समूह र आयोगमै विश्वास गर्ने अनुभागले प्रतिवेदन कुर्नुपर्ने भनेका छन्, भने सुदन गुरुङको टोली तत्काल गिरफ्तारी र कारबाहीको पक्षमा छ ।
अभियन्ताहरूले कानुनी प्रक्रियाबाट दोषीलाई दायरामा ल्याउन जोड दिएर अनावश्यक हुलहुज्जत रोक्न आग्रह गरेका छन् ।
केही उग्र पक्षले विगतका शासकहरूलाई समेत पक्राउ गरी सम्पत्ति राष्ट्रियकरण गर्ने जस्ता दाबीसमेत राखेका छन् ।























