images
images
  • बालेन पनि पक्राउ पर्ने भयले ओली–लेखकलाई पक्रिन मानेन् प्रहरीले, सरकारसँग लिखित आदेश माग

    काठमाडौं– जेन्जी युवा अगुवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउको माग गर्दै दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरेकी छन् ।

    आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि उजुरी दर्ताको विषय तातो बनिरहँदा प्रधानमन्त्री कार्कीले सोमबार राति गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग बालुवाटारमा छलफल गरेकी हुन् ।

    बैठक राति २ बजेसम्म चलेको थियो ।

    जेन्जी युवाले ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगे पनि प्रहरीले स्वीकार गरेन ।

    प्रहरी अधिकारीहरूले गृहमन्त्रीलाई आज पूर्वप्रधानमन्त्रीमाथि उजुरी आयो भने भोलि मेयर बालेनविरुद्ध पनि आउन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।

    गृहमन्त्री जाहेरी दर्ताको पक्षमा रहे पनि अन्ततः विषय प्रधानमन्त्रीसँग परामर्श गरेर टुंग्याउने निर्णय भएको स्रोतले बतायो ।

    छलफलमा प्रहरी महानिरीक्षक खापुङले प्रधानमन्त्रीको लिखित निर्देशन र केन्द्रीय सुरक्षा समितिको निर्णय आएपछि मात्रै अघि बढ्ने बताएका थिए ।

    सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न पूर्वविशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरिसकेको छ ।

    सो समितिको सिफारिसपछि ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई उपत्यका बाहिर जान रोक लगाइएको छ ।

    बैठकमा सुरक्षा अधिकारीहरूले न्यायिक छानबिन जारी रहेको र प्रहरीका केही हतियार अझै फिर्ता नभएकाले सुरक्षा संवेदनशील रहेको जानकारी दिएका थिए ।

    प्रधानमन्त्री कार्कीले दोषी जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने निर्देश दिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images