काठमाडौं– जेन्जी आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न बढ्दो दबाबपछि बालुवाटारमा मध्यरातिसम्म सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग बैठक बसेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी थिइन् ।
बैठकमा कानुनी रूपमा ओली र लेखकलाई पक्राउ गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा विस्तृत समीक्षा गरिएको स्रोतले जनाएको छ ।
जेन्जी आन्दोलनमा ७५ जनाको ज्यान गएपछि सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान चलिरहेको छ ।
जेन्जी अभियानकर्ताहरूले सात दिनभित्र पक्राउ नगरे पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
तर, केही सुरक्षा अधिकारी र जेन–जी नेताहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग काम गरिरहेको अवस्थामा पक्राउले कानुनी प्रक्रिया ओभरल्याप हुने बताएका छन् ।
उनीहरूको सुझाव थियो, आयोगको प्रतिवेदन नआएसम्म पक्राउमा हतार गर्नु ठीक हुँदैन ।
प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले पनि कानुनी आधारबारे प्रश्न उठाएका छन् ।
बालुवाटार बैठकअघि गृह मन्त्रालयमा प्रहरी र सशस्त्रका प्रमुखहरूसँग छुट्टै परामर्श भएको थियो ।
यता, जेन्जीभित्र पनि मतभेद देखिएको छ ।
एक पक्ष तत्कालीन सरकारका जिम्मेवारलाई तुरुन्त कारबाहीको माग गर्दै अख्तियार प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशसम्म राजीनामा गराउनुपर्ने भनाइमा छ भने अर्को पक्षले कानुनी सीमाभित्र रहनुपर्ने बताएको छ ।
५ असोजको मन्त्रिपरिषद्ले दमनबारे छानबिन गर्न कार्की नेतृत्वको आयोग गठन गरेको थियो ।
आयोगले ओली, लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अनुसन्धान विभागका तत्कालीन प्रमुख र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको राहदानी रोक्का गर्न सिफारिस गरिसकेको छ ।
२३ र २४ भदौमा भएको आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा राज्यपक्षबाट भएको गोलीप्रयोगमा ७५ जनाको मृत्यु भएको थियो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए ।
जेन्जी समूहले त्यस हिंसात्मक घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आन्दोलनलाई न्यायिक रूपमा अघि बढाउन सरकारसँग माग गरेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्