images
images
  • एमाले कोटाबाट अख्तियार प्रमुख बनेका राईलाई राजीनामा दिन जेन्जीको दबाब

    काठमाडौं– विभिन्न जेन्जी समूह र व्यक्तिहरूको सहभागितामा बनेको ‘जेन्जी मुभमेन्ट अलायन्स’ले अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।

    आन्दोलन भ्रष्ट्राचार र दण्डहीनता अन्त्य गर्ने उद्देश्यसहित अघि बढेको भन्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारको नेतृत्व निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना नियुक्त भएकाले आयोगले विश्वसनीयता गुमाएको छ ।’

    अलायन्सका अनुसार प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेकोले आयोगको स्वतन्त्रता प्रश्नवाचक बनेको हो ।

    समूहले हालैको विशेष अदालतको निर्णय उद्धृत गर्दै राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ भएको टिप्पणीपछि राजीनामाको माग झन् बलियो बनेको बताएको छ ।

    विज्ञप्तिमा राई संलग्न ठूला मुद्दा नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी, र वाइडबडी विमान खरिद प्रकरण उल्लेख गर्दै उनीमाथि नैतिक जिम्मेवारी लिन आग्रह गरिएको छ ।

    हाल संघीय संसद् नहुँदा महाअभियोग सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने समूहको भनाइ छ ।

    साथै, अन्तरिम सरकारले खुला आवेदनमार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्त नियुक्त गर्न माग गरिएको छ ।

    जेनजी मुभमेन्ट अलायन्सले भोलि असोज २१ गते बिहान १० बजे अख्तियार कार्यालयमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे शान्तिपूर्ण प्रदर्शन गर्ने चेतावनी पनि दिएको छ ।

    ३९ जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह सम्मिलित यस अलायन्सले राईलाई व्यक्तिगत रूपमा र प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयलाई पनि ईमेलमार्फत राजीनामाको आग्रह गरेको जनाएको छ ।

    राई एमाले कोटाबाट अख्तियार प्रमुखमा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images