काठमाडौं– नेकपा (एमाले)ले ‘अर्ली महाधिवेशन’को तयारी तीव्र बनाएको छ ।
नेताहरूका अनुसार पुसतिर महाधिवेशन तोकिन सक्ने सम्भावना छ ।
२०७८ मंसिरमा दसौँ महाधिवेशन सम्पन्न गरेको एमालेले विधानअनुसार २०८३ मंसिरभित्र अर्को अधिवेशन गर्न पाउने व्यवस्था छ ।
तर, अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहँदै महाधिवेशन गर्ने योजना बनाएका थिए ।
त्यसैका लागि उनले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि बाटो खुला गरिसकेका थिए ।
जेन्जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट र नेतृत्वप्रति असन्तुष्टिका बीच एमालेभित्र ओलीमाथि राजीनामाको दबाब बढेको छ ।
सचिवालयमा बहुमत गुमाएपछि ओलीले असहमत नेताहरूलाई कारबाही गर्ने योजना स्थगित गर्दै अब महाधिवेशनमार्फत नेतृत्व कायम राख्ने वा उत्तराधिकारी तय गर्ने तयारी गरेका छन् ।
उपाध्यक्ष गुरु बरालका अनुसार अबको सचिवालय बैठक (असोज २४, गुन्डु) ले महाधिवेशनको मिति तय गरी केन्द्रीय कमिटीमा अनुमोदनका लागि पठाउनेछ ।
तर, केही नेताहरूले ओलीले महाधिवेशनअघि राजीनामा दिएर वरिष्ठ उपाध्यक्ष वा आफूले रोजेको व्यक्तिलाई नेतृत्व जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।
ओली भने आफ्नै नेतृत्वमा अधिवेशनमा जान चाहन्छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार विधान महाधिवेशनपछि नेतृत्व चयनको अधिवेशन अब ढिलो नहुनेछ ।
एमालेले असोज २७–२९ मा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
त्यसभन्दा अघि बस्ने सचिवालय बैठकले महाधिवेशन र संगठनात्मक समीक्षा एजेन्डा तय गर्नेछ ।
नेताहरूका अनुसार बैठकमा जेन्जी आन्दोलन, सरकार पतन र ओली नेतृत्वको भूमिकाबारे खुला समीक्षा हुनेछ ।
बरालका अनुसार अहिलेको राष्ट्रिय संकटका बीच पार्टी एकता र जबजब सिद्धान्तको अनुशासनभित्र नेतृत्व परिवर्तन वा निरन्तरताको निर्णय हुनुपर्छ ।























