काठमाडौं– भदौ २३–२४ को जेन–जी आन्दोलनपछि बढ्दो दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार गुन्डुस्थित निवासमा बसेको सचिवालय बैठकमा दुई प्रस्ताव पारित गराउने प्रयास गरेका थिए ।
पहिलो प्रस्तावले ओलीलाई पुनः नेतृत्वमा पुष्टि गर्ने तथा दोस्रोले उषाकिरण तिम्सेनालाई पार्टीबाट निष्कासन गर्दै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र गोकुल बाँस्कोटालाई स्पष्टीकरण सोध्ने व्यवस्था गरेको थियो ।
तर, १८ सदस्यीय सचिवालयमा दुईतिहाइ सदस्यहरू विपक्षमा उभिएपछि ओलीले दुवै प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गर्न नै सकेनन् ।
बैठकमा अधिकांश नेताहरूले पार्टीलाई आपसी संवाद र कमजोरी सच्याउँदै अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।
यसपछि ओलीले उक्त प्रस्तावहरू सिधै केन्द्रीय कमिटीमा लैजाने तयारी थालेका छन् ।
स्रोतका अनुसार ओलीले पहिलो बैठकमै आफ्ना आलोचकहरूलाई कारबाही गर्ने रणनीति बनाएका थिए ।
तर, बहुमत नेताहरूले उनी स्वयंले राजीनामा दिनुपर्ने वा नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप ल्याउनुपर्ने माग गरेपछि उनको योजना असफल भएको हो ।
हाल सचिवालयमा अल्पमतमा परेका ओली केन्द्रीय कमिटीमा भने समर्थन जुटाउने विश्वासमा छन् ।
यही विश्वासका आधारमा उनले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएर आफ्ना प्रस्तावहरू त्यहाँ पेस गर्ने तयारी गरिरहेका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्