काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवा संलग्न रहेको दाबी फेरि सतहमा आएको छ ।
तर, सरकारी अनुसन्धान निकाय र अदालतका अभिलेखमा उनीमाथि प्रत्यक्ष कानुनी कारबाही वा अभियोगपत्र दर्ता भएको पाइँदैन ।
२०७९ साल वैशाखतिर सार्वजनिक भएको भुटानी शरणार्थीका प्रकरणमा संलग्न जालसाजी र मानव बेचबिखनको आरोपमा दर्जनौं उच्चपदस्थ अधिकारी र राजनीतिक व्यक्तिहरू पक्राउ परेका थिए ।
अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका सहायक सचिव टेकराज सापकोटा तथा केही पूर्व सहसचिवविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
तर, पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही अनौपचारिक मञ्चहरूमा आरजु राणाको नाम समेत जोडिएपछि विवाद फेरि चर्किएको छ ।
राणामाथि आरोप लगाउनेहरूले उनी प्रभावशाली पदमा रहेकाले अनुसन्धान प्रक्रियामा राजनीतिक संरक्षण भएको दाबी गरेका छन् ।
उता, राणाले भने आफूलाई उक्त प्रकरणमा जोडिएको दाबीलाई पूर्णतः आधारहीन र राजनीतिक प्रेरित प्रचार भन्दै खण्डन गरेकी छन् ।
उनले मेरो नाम जोड्नेहरूले प्रमाणका साथ कुरा गर्नुपर्छ । यो चरित्र हत्या गर्ने नियत हो, उनले केही समयअघि सञ्चारकर्मीसँग भनेकी थिइन् ।
प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार केही प्रमाण भेटिएकोले अनुसन्धान अगाडि बढाइने बताएका छन् ।
विशेष अदालतमा मुद्दा विचाराधीन रहेको यो प्रकरणमा अदालतले यसअघि केही आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने केहीले धरौटीमा रिहा भएका छन् ।
सरकारी वकिल कार्यालयका अनुसार अनुसन्धान अझै जारी छ र नयाँ नाम जोडिने सम्भावना भने नकारिएको छैन ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राणालाई पक्राउ गर्ने तयारी गरेको थियो ।
उनी पक्राउ पर्ने भयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सहमति गरेर मुक्त भएकी थिइन् ।
ओली प्रधानमन्त्री बनेसँगै एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन भत्किएको थियो ।
त्यसपछि कांग्रेस–एमाले नेतृत्वको सरकार गठन भएपछि यो प्रकरण रफादफा गरिएको थियो ।
यतिबेला जेन्जी आन्दोलनको बलमा बनेको प्रधानमन्त्री सुशीला कार्की ने्तृत्वको सरकारले नक्कली भुटानी शरणार्थीको फाइल खोल्ने तयारी गरेको छ ।
यहीँ मौकामा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं पूर्वमन्त्री डा.आरजु राणालाई पक्राउ गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
यतिबेला उक्त प्रकरणको फाइल खोल्न सरकारले आन्तरिक गृहकार्य गरिरहेको स्रोतको भनाइ छ ।
स्रोतले राणालाई पक्राउ नगरेसम्म सो प्रकरणबारे प्रष्ट छानबिन नहुने बताएको छ ।
त्यसैले केही दिनमै उनलाई पक्राउ गर्ने तयारी भइरहेको बताइएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्