काठमाडौं– अविरल वर्षा रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ ।
बीपी राजमार्ग बाहेक अन्य राजमार्गमा सवारीसाधन सञ्चालन गर्ने निर्णय नजिकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडक खण्ड सञ्चालनका लागि तयारी भइरहेको छ ।
केही स्थानमा साना पहिरा हटाइएपछि पश्चिमतर्फको बाटो खुल्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार वर्षा हुने क्रम रोकिने क्रम जारी छ र ठूलो पानी पार्ने प्रणाली देशको मध्यभागबाट बाहिरिएको छ ।
उनका अनुसार पश्चिम क्षेत्रमा मौसम अनुकूल बन्दै गएको र यातायात सञ्चालनका लागि जानकारी सम्बन्धित निकायलाई दिइसकिएको छ ।
बाढी र पहिरोको जोखिमका कारण सरकारले असोज १८ देखि २० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।
अविरल वर्षाका कारण रोकिएका आन्तरिक हवाई उडान भने आज बिहानैदेखि पुनः सुरु भएका छन् ।























