इलाम– अविरल वर्षापछि आएको बाढी र पहिरोले इलामका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलामका कम्तीमा छ स्थानमा पहिरो र बाढीका घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङका डम्बरबहादुर तामाङको घर माथिबाट आएको पहिरोले पुरिँदा घरभित्र रहेका छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही नगरपालिका–१ मा राजु क्षेत्रीको घरमा पहिरो खस्दा चार जनाको शव फेला पारिएको र उपचारका लागि लैजाँदै गर्दा थप एक जनाको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सन्दकपुर गाउँपालिका–१, छाँगेमा पहिरोले एक जनाको ज्यान लिएको छ भने अर्को एक जना घाइते भएका छन् ।
माइजोगमाई गाउँपालिका–६, प्याङमा भने एकै घरका पाँच जना बेपत्ता भएको डिएसपी थापाले बताए ।
त्यस्तै, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन् ।
माङ्सेबुङ गाउँपालिकामा पहिरोका कारण एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।
देउमाई नगरपालिका–५ धारेमा एक जनाको मृत्यु भएको छ भने सोही नगरपालिका–५ धुसुनेमा दुई जनाले ज्यान गुमाएका छन् ।
फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा पनि एक जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–५ घोसगाउँमा पहिरोले एकैपटक छ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
स्थानीय प्रशासनका अनुसार बेपत्ता र घाइतेहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।























