काठमाडौं- मौसमी प्रणाली सक्रिय बनेसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा ८ देखि १० घण्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविद्हरूले जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार शुक्रबार हल्कादेखि मध्यम वर्षा भए पनि शनिबार दिउँसोबाट भारीदेखि अति भारी वर्षा हुने र शनिबार राति विशेष सतर्क रहनुपर्ने उल्लेख गरिएको छ ।
बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान प्रभावित हुने अनुमान छ भने लुम्बिनी र गण्डकीका केही भागमा समेत अति भारी वर्षा हुनसक्ने बताइएको छ । कतिपय स्थानमा ३०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहने चेतावनी दिंदै रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र सावधानीसहित यात्रामा निस्कन आग्रह गरेको छ ।























