images
images
  • अत्यावश्यकबाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

    काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म पाँच प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

    प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

    यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीसहित स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम देखिएको छ ।

    काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत क्षेत्रमा पहिरो र डुबानको सम्भावना उच्च भएकाले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाउन सकिने प्राधिकरणले जनाएको छ ।

    नदी किनार र जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिन–दिन र आवश्यक परेमा तत्काल स्थानान्तरण हुन आग्रह गरिएको छ ।

    तीनै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र जोखिमयुक्त सडकमा आवश्यक उपकरण तुरुन्त परिचालन गर्न पनि निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images