
काठमाडौं- गुजारा नचलेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको छ ।
दैनिक सरासर २५ सय नेपाली रोजगारीका लागि विदेशिँदा उनीहरूमध्ये थुप्रैका सपनाहरू परदेशमै टुट्छन् ।
साहुको ऋण तिर्ने, घर-जग्गा जोड्ने र परिवारलाई खुसी पार्ने आशा बोकेर गएका युवामध्ये कैयौं बाकसमा कैद शव बनेर मात्र फर्कन्छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन–भदौ) १४२ जनाको मृत्यु भएको छ ।
साउनमा ४३ र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो। तीमध्ये ८३ जनाको शव बोर्डको खर्चमा ल्याइयो भने बाँकी कम्पनी तथा अन्य निकायको सहयोगमा त्रिभुवन विमानस्थलसम्म पुर्याइयो ।
गत वर्ष २०८१/८२ मा मात्रै १,०८६ जनाको शव नेपाल ल्याइएको थियो। यसैबीच, चालु वर्षका दुई महिनामै २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।
बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव निःशुल्क घरसम्म पुर्याउने, मृतक परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने अंगभंग तथा विरामी श्रमिकलाई ७ लाखसम्मको उपचार खर्च उपलब्ध गराउने, र मृतक वा अशक्त श्रमिकका छोराछोरीलाई विद्यालय तहसम्म छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
आर्थिक सहायता पाउन मृत्यु वा दुर्घटना भएको एक वर्षभित्र निवेदन दिनुपर्ने र सबै कागजात आधिकारिक निकायबाट प्रमाणित हुनुपर्ने शर्त तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्