काठमाडौं- जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र र बाहिर आलोचना बढ्दो छ ।
नेताहरूले ओलीकै कारण एमालेको छवि कमजोर भएको र कार्यकर्ताको भविष्य अन्योलमा परेको बताइरहे पनि पार्टी बैठकमा भने कसैले खुलस्त ‘अध्यक्ष पद छाड्नुस्’ भन्न सकेनन् ।
आइतबार गुण्डुमा बसेको सचिवालय बैठकमा अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको आवश्यकता औंल्याए । तर त्यसको स्वरूप र समयबारे ठोस निर्णय भएन ।
उपाध्यक्ष रामबहादुर थापा (बादल) ले नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै संकेतात्मक रूपमा पद त्यागको सन्देश दिएका थिए । तर ओलीले त्यसमा प्रत्यक्ष प्रतिक्रिया दिएनन् ।
बैठकमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरूले गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
महासचिव शंकर पोखरेल भने परिस्थितिलाई सामान्य रूपमा प्रस्तुत गर्न चाहन्थे ।
नेताहरूका अनुसार ओलीमाथि दबाब बढ्दो भए पनि उनले त्यसलाई खुलेर देखाउन चाहेका छैनन् ।
थप छलफल असोज १९–२० को सचिवालय बैठक र असोज २७ मा बस्ने केन्द्रीय कमिटीमा हुने छ ।
त्यही बैठकले ११औं महाधिवेशनको मिति टुंग्याउने सम्भावना छ ।























