काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जेनजी पुस्ताको माग र मनोविज्ञानलाई आत्मसात् गर्दै पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणलाई पार्टीको एजेन्डा बनाइएको स्पष्ट पारे ।
उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितिले विशेष महाधिवेशनमार्फत युवापुस्ताको ठूलाे प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ ।
संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता मुद्दा अहिले पुनः मुखरित भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्ने समय आएको बताए ।
दशैंले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संघर्षलाई शक्तिमा बदल्ने प्रेरणा दिने विश्वास समेत प्रचण्डले व्यक्त गरेका छन् ।























