काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सबै तहका नेताहरूलाई चाडपर्वको अवसरमा उपहार वा शुभकामना स्वरूप कुनै पनि किसिमको उपहार अस्वीकार गर्न निर्देशन दिएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वका अवसरमा पार्टी पदाधिकारी, सांसद वा नेता–कार्यकर्ताले उपहार स्वीकार नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “रास्वपाका पूर्व सांसदहरुले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको छ ।”
झाले जनजीविकामा परेको बोझ र सुशासनको आवश्यकता बलियो रूपमा उठिरहेको अवस्थामा रास्वपा सधैं जनताका पक्षमा रहने र राष्ट्र निर्माणमा जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिगत लाभका लागि चाडपर्वलाई प्रयोजन नबनाई पारदर्शिता र इमानदारीतासहित राजनीतिक संस्कृति कायम राख्न आग्रह गरेका छन् ।























