images
images
  • कांग्रेस नेतृत्व परिवर्तनका लागि गगन–विश्वप्रकाश एक, शेखरको मत भिन्नै

    काठमाडौं– भदौ २३–२४ को जेनजी आन्दोलनपछिको अवस्थाबारे रणनीति बनाउन नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

    असोज ३ गते बसेको कार्यसम्पादन समिति बैठकको मागअनुसार सभापति शेरबहादुर देउवाले अस्पतालमै रहेर बैठक आह्वान गरेका हुन् ।

    देउवा र डा. आरजु राणा देउवा हाल पनि सैनिक अस्पतालमै उपचाररत छन् ।

    उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठक बोलाउन निर्देशन दिएको स्रोतले बताएको छ ।

    देउवाको कार्यकाल मंसिरमा सकिने भएकाले नियमित महाधिवेशन गर्नुपर्ने उनको चाहना रहेको निकट नेताहरूको भनाइ छ ।

    इतर समूहका डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।

    तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको तयारीमा देखिएका थिए, तर विरोध भएपछि हस्ताक्षर संकलन रोकिएको छ ।

    कांग्रेस विधानअनुसार देउवा पुनः सभापति बन्न नपाउने भएकाले उनलाई सम्मानजनक बहिर्गमन दिने विषयमा पार्टीभित्र सहमति बढ्दै गएको छ ।

    तर, नेतृत्व परिवर्तनको प्रक्रिया भने विवादित छ, देउवा पक्षीयहरू नियमित महाधिवेशन चाहन्छन् भने खड्का, निधि र केही नेताहरूले कार्यवाहक सभापति दिएर निर्वाचनतर्फ जानुपर्ने बताइरहेका छन् ।

    युवा नेताहरूबीच पनि भिन्नता छ, गुरुराज घिमिरे नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर चलिरहेको भए पनि डा. कोइराला निकट रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, दीपक भट्टराईलगायतले नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images