images
images
  • नेपाल–चीनको ग्वाञ्जाओ उडान सुरु

    काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ ।

    निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।

    निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो ।

    ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही संख्याका यात्रु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो ।

    विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो ।

    निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ ।

    पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ ।

    निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ ।

    पहिलो उडान १२ असोजमा हुने र त्यसपछि ३० असोजमा, २ र ६ कात्तिकमा हुने उडान पनि तय भएको छ ।

    त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।

    काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

    काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ ।

    नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ ।

    नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

    निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।

    हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images