काठमाडौं– समाजवादी मोर्चामा रहेका चार दल पार्टी एकीकरणको गृहकार्यमा जुटेका छन् ।
गत ३ असोजमै एकताको तयारी भए पनि जेनजी आन्दोलनका कारण प्रक्रिया ढिलाइ भएको हो ।
अब भने दशैं, तिहार र छठपछि एकीकरण टुंगोमा पु–याउनेगरी छलफल तीव्र पारिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्रराय यादवको नेपाल समाजवादी पार्टीबीच एकता वार्ता भइरहेको छ ।
प्रचण्ड, माधव नेपाल, विप्लव र यादवसहितका शीर्ष नेताबीच वैचारिक, सांगठानिक संरचना, नेतृत्व र संगठन विस्तारका विषयमा लगातार छलफल भइरहेको छ ।
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एकीकरण र ध्रुवीकरणका प्रयासको प्रष्ट संकेत गरेका थिए ।
एकीकृत समाजवादीले डा. वेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति बनाएर छलफल अघि बढाइरहेको छ ।
प्रस्तावित एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ हुने र मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सहमति बनाइएको छ ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ‘आतंक फैलाएर बनेको’ आरोप लगाएका छन् ।
गुण्डुमा आयोजित कार्यक्रममा उनले ‘भ्रष्टाचार गरेको भनेर हल्ला मात्र फैलाइएको’ दाबी गर्दै आफ्नो पार्टीले मात्रै देशलाई सही बाटोमा लैजान सक्ने दाबी गरे ।
जेनजी आन्दोलनका क्रममा बालुवाटारबाट भाग्नुपरेको प्रसंग सम्झिँदै उनले आफूलाई मार्ने योजना बनेको दाबीसमेत गरे ।
पाँच मिनेट ढिला भएको भए आफू हत्या हुने र कांग्रेस सभापति शेरबहादुर देउवा घाइते हुने योजनासहित प्रदर्शनकारी अघि बढेको उनले उल्लेख गरे। अन्ततः सेनाले आफूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगेको उनले स्मरण गरे ।
नेतृत्व हस्तान्तरणबारे चर्को बहस चलिरहेका बेला पनि ओलीले नेतृत्व छोड्ने संकेत भने दिएका छैनन् ।























