images
images
  • जेन्जीलाई गुन्डूबाट ओलीको धम्की, देश आफूबाहेक अरूले बनाउनै नसक्ने दाबी

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै वैधतामाथि प्रश्न उठाएका छन् ।

    २३–२४ भदौको जेन्जी आन्दोलनपछि सेनाको ब्यारेकमा बसेर राजीनामा दिएका ओली २ असोजमा बाहिरिएपछि शनिबार पहिलोपटक भक्तपुर गुन्डूमा आयोजित कार्यक्रममा प्रकट भएका हुन् ।

    ओलीले आन्दोलनलाई ‘हाहाहुहु’को संज्ञा दिँदै आन्दोलनकै अवमूल्यन हुनेगरी वक्तव्य दिए ।

    तर, आफ्नै कार्यकालमा भएको ६ दर्जनभन्दा बढी नागरिक हत्याबारे भने उनले कुनै जिम्मेवारी स्वीकार गरेनन् ।

    उल्टै आफूले गोली चलाउन आदेश नदिएको दाबी गर्दै घटनाबाट पन्छिने कोसिस गरे ।

    २३ भदौमा व्यापक दमन भएपछि आन्दोलन देशभर फैलिएको थियो ।

    संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगजनी भइसकेपछि मात्रै उनले राजीनामा बुझाएर सेनाको हेलिकोप्टरमार्फत भागेका थिए ।

    कानुनविद्हरूले २७ भदौसम्म ओली कामचलाउ प्रधानमन्त्री भएकाले सबै घटनाको प्रमुख जिम्मेवारी उनकै भएको बताएका छन् ।

    युवा संघको कार्यक्रममा उनले अहिलेको सरकार आतंक फिँजाएर बनेको भन्दै सुरक्षा नै नदिएको आरोप लगाए ।

    तर, उनी स्वयं कडा सुरक्षा घेरामा सहभागी थिए ।

    उनले पासपोर्ट रोक्ने तयारीलाई चुनौती दिंदै ‘देश आफूले नै बनाउनुपर्ने’ दाबी गरे ।

    गृह मन्त्रालयले भने शनिबार बिहानै नेताहरूमाथि समाज भड्काउने खालको अभिव्यक्ति नदिन सचेत गराएको थियो ।

    यता, ओलीले आइतबार पार्टी सचिवालय बैठक बोलाएका छन् ।

    राजीनामा र पार्टी पुनर्गठनको माग बढिरहेका बेला उनले पदाधिकारीहरूलाई एक्लाएक्लै भेटेर ‘विदेशी–देशी षड्यन्त्र’को नाममा आफूलाई समर्थन गराउन खोजेको बताइन्छ ।

    तर, नेतृ उषाकिरण तिम्सेनाले केवल षड्यन्त्र भन्दै पन्छिन नमिल्ने भन्दै वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने धारणा राखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images