images
images
  • यी हुन् माओवादी बैठकले गरेका निर्णय (निर्णयसहित)

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) को सातौं पूर्णबैठक सम्पन्न भएको छ ।

    बैठकले पार्टी संरचना, आगामी महाधिवेशन तयारी तथा आन्तरिक सुधारका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

    बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

    सो समितिको संयोजकत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

    साथै, हालका पदाधिकारीहरू आयोजक समितिको सचिवालयमा परिणत हुनेछन् ।

    पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकले पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ ।

    यससँगै नेताका पारिवारिक सदस्यहरूमा देखिएको ‘नेपोटिज्म’ नियन्त्रण गर्न विशेष कार्यविधि बनाएर निर्णय गर्ने, साथै संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति निर्माण गर्ने पनि बैठकको निष्कर्ष छ ।

    युवापुस्तालाई प्राथमिकतामा राख्दै जेन–जेड पुस्तालाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागिता दिलाउने र पार्टीको कामलाई सूचना–प्रविधि (आईटी) मैत्री बनाउन उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णयसमेत बैठकले गरेको छ ।

    अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ भने वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका सुझावहरूलाई समेत त्यसमै समेट्ने निर्णय भएको छ ।
    बैठकले महाधिवेशनसम्म निरन्तर छलफल गर्दै जाने जनाएको छ ।

    त्यस्तै, विचार मिल्ने अन्य वामपन्थी शक्तिहरूसँग एकता गर्ने दिशामा पनि बैठकले स्पष्ट संकेत दिएको छ ।

    निर्णय :

    * केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।

    * पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।

    * नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।

    * जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।

    * आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।

    * अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

    * विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images