काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित घर खाली गर्न घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन् ।
अमेरिकामा रहेका देवकोटाले करिब १० महिनादेखि भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र घर खाली गर्न पार्टीलाई जानकारी गराएका हुन् ।
मासिक तीन लाख ५० हजार रुपैयाँमा भाडा सम्झौता भए पनि रकम बुझ्न नसकेको उनले बताए ।
साथै, पार्टीलाई दिएका ठूलो सापटी रकमसमेत फिर्ता नपाएको गुनासो गरेका छन् ।
रास्वपाको अनुशासन आयोगका प्रमुखसमेत रहेका देवकोटा अमेरिका गएपछि कार्यवाहक तोकिएको थियो ।
उनले पार्टीसँगको संलग्नता र घर भाडा छुट्टाछुट्टै विषय भएको तर त्यसलाई पार्टीले गम्भीरतापूर्वक नलिएको टिप्पणी गरेका छन् ।
स्थापना कालमा बसुन्धरामा रहेको सानो कार्यालयबाट रास्वपा बनस्थलीस्थित देवकोटाको घरमा सरेको हो ।
सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए ।























