काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डपछि बोलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई अध्यक्षको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन् ।
उनले प्रचण्ड अब सम्मानपूर्वक बिदा भएर बस्नुपर्ने बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
दुई दिनअघि स्थायी समिति बैठकमा पनि श्रेष्ठले कार्यवाहक अध्यक्ष पाउनुपर्ने माग गरेका थिए ।
उनले मंसिरमा विशेष महाधिवेशन सम्भव नभएको र निर्वाचनपछि मात्रै गहन छलफलसहित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
तर, उपमहासचिव जनार्दन शर्माले फरक मत व्यक्त गरेका छन् ।
उनले अहिलेका सबै पदाधिकारीले सामूहिक रूपमा बिदा भएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका छन् ।
बैठकको सुरुमा प्रचण्डले विधि र प्रक्रियाबाटै नेतृत्व हस्तान्तरण हुने बताएका थिए ।
उनले नेतृत्व कसैले दिनु वा लिने कुरा नभई आन्दोलन र आवश्यकताले जन्मिने बताए ।
प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दै क्रान्ति–प्रतिक्रान्तिको दोसाँधमा देश उभिएको उल्लेख गरेका छन् ।
उनका अनुसार भदौ २३–२४ को जेन–जी आन्दोलनमा सरकारको दमन र प्रतिक्रियावादी चलखेलले भयावह स्थिति सिर्जना भएको भए पनि आफ्नै पहलले लोकतन्त्र र संविधान जोगाउन सफल भएको हो ।
प्रचण्डले मंसिरमा विशेष वा एकताको महाधिवेशन गर्ने, वर्तमान केन्द्रीय समिति विघटन गर्ने र महाधिवेशनमा जेन–जी पुस्तासहित युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने प्रस्ताव राखेका छन् ।
साथै, फागुन २१ गते तोकिएअनुसार आम निर्वाचन सम्पन्न गर्नुपर्ने र उम्मेदवारीमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।
बैठकमा उनले समाजवादी मोर्चाका दलहरूसँग एकताको प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन् ।
आजै प्रदेश अध्यक्षहरूको प्रतिवेदन र समूहगत छलफल हुने कार्यक्रम रहेको छ ।























