काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र त्यसअनुसार पदाधिकारी तथा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव राखेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् ।
श्रेष्ठले निर्वाचनपछि मात्रै महाधिवेशन सम्भव हुने बताउँदै तत्काल प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने माग राखे ।
उनले कार्यवाहक अध्यक्षका रूपमा आफूलाई जिम्मेवारी दिन आग्रहसमेत गरे ।
त्यसपछि बोलेका उपमहासचिव शर्माले सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र महाधिवेशनमार्फत नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरे ।
शर्माले महाधिवेशनमा कार्यकर्ताले स्वतन्त्र रूपमा नेतृत्व छान्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यसअघि पनि पदाधिकारी बैठकमा श्रेष्ठले कार्यवाहक अध्यक्षको माग गरेका थिए ।
शर्माले समेत प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।























