काठमाडौं– जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र चर्को विवाद सुरु भएको छ ।
महामन्त्री गगन थापाले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् भने डा. शेखर कोइराला भने नियमित महाधिवेशनमै जाने पक्षमा छन् ।
थापाले मंसिरमै अधिवेशन वा तत्काल विशेष महाधिवेशन गर्ने दुई विकल्प प्रस्तुत गरेका छन् ।
देउवा नेतृत्वको संस्थापन पक्षले भने देउवा उपचाररत भएकाले तत्काल विशेष महाधिवेशन उचित नभएको भन्दै नियमित अधिवेशनमै नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा लिएको छ ।
थापाले केन्द्रीय समितिबाट समर्थन नपाए ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित तीन महिनाभित्र विशेष महाधिवेशनमा जाने तयारी गरेका छन् ।
तर, विधानअनुसार विशेष महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउन सभापतिविरुद्ध अविश्वास प्रस्ताव ल्याएर दुईतिहाइ मतले मात्र हटाउनुपर्ने हुन्छ ।
यसरी कांग्रेसभित्र अहिले ‘विशेष महाधिवेशन’ कि ‘नियमित महाधिवेशन’ भन्ने विवाद चुलिएको छ ।























