काठमाडौं– बदलिँदो राजनीतिक परिस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक २० घण्टा लामो छलफलपछि सम्पन्न भएको छ ।
सात एजेण्डामध्ये पार्टी रुपान्तरण र संगठन पुनर्संरचनाको विषयलाई नेताहरुले प्राथमिकताका साथ उठाएका थिए ।
जेनजी आन्दोलनले ल्याएको दबाबसँगै नेतृत्व र संगठनमा रुपान्तरणको माग केन्द्रीय सदस्यहरुले जोडसँग अघि सारे ।
सभापति रवि लामिछानेको विकल्प खोजिएको छैन भने पनि उनको सचिवालय र पार्टी संरचनामा जेनजी पुस्ताको प्रतिनिधित्व अनिवार्य हुने धारणा राखियो ।
नेता सन्तोष परियारले रुपान्तरणका लागि मंसिरमा विशेष महाधिवेशन वा विस्तारित बैठक गर्ने दुई विकल्प प्रस्तुत गरे ।
डा. तोसिमा कार्कीले पार्टी अब यथास्थितिमा चल्न नसक्ने भन्दै सिद्धान्त र संगठनात्मक चरित्रमा सुधारको आवश्यकता औंल्याइन् ।
प्रदेशस्तरबाट आएका प्रतिवेदनमा संगठन पुनर्गठन र नेतृत्वमा प्रश्न उठाइए पनि पाँच प्रदेशका सभापतिहरुले पत्रकार सम्मेलन गर्दै रविको विकल्प छैन भन्दै समर्थन जनाए ।
तर, बागमती प्रदेश इञ्चार्जसमेत रहेकी कोषाध्यक्ष लिमा अधिकारीले प्रदेश प्रतिवेदनलाई तोडमोड गरिएको भन्दै असहमति जनाइन् र इञ्चार्ज पद छाड्ने चेतावनी दिइन् ।
सुमना श्रेष्ठको फिर्ती प्रयास
बैठकमा पूर्व सहमहामन्त्री सुमना श्रेष्ठलाई पार्टीमा फर्काउन कार्यदल गठन गर्ने प्रस्ताव पनि उठ्यो ।
केही नेताले पार्टी छोडेर गएकाहरूसँग संवाद बढाउनुपर्ने धारणा राखे ।
त्यस्तै सभापति लामिछाने जेलमुक्त भएको दिन देखिएको ‘विजयी भाव’ र नेताहरुको उपस्थिति विवादित बनेको छ ।
कतिपयले यसलाई पार्टीको प्रतिष्ठा र आन्दोलनको अपमान भनेका छन् ।
त्यस दिन सहभागी नेताहरूमाथि कारबाहीको माग भए पनि प्रदेश तहका नेताहरुले त्यसविरुद्ध चेतावनी दिएका छन् ।
बैठकमा ज्वाला संग्रौलाले ‘शर्तसहित’ राजीनामा दिने घोषणा गरे पनि त्यसलाई धेरै नेताले स्टन्ट मात्र भएको टिप्पणी गरे ।























